सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एसपीपीमा सहभागी नहुने भनी अमेरिकालाई जानकारी गराउन पत्राचार गर्ने निर्णय गरेको हो।
एसपीपीबारे सदनमा पनि ब्यापक आवाज उठेको थियो । कांग्रेस र एमालेले एकअर्कामा यसबारे आरोप प्रत्यारोप समेत गरेका थिए । सत्ता गठबन्धन मै रहेका दलहरुलाई एसपीपीबारे कहिले के भएको हो भन्ने बारे श्वेतपत्र जारी गर्न पनि माग गरेका थिए ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि यस बारे चासो राख्दै सरकारसँग अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सँग सम्बन्धित कागजपत्र माग गरेको थियो । शुक्रबार परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरण शर्मा लगायतसँग एसपीपीबारे छलफल गरेपछि समितिले यससँग सम्बन्धित कागजपत्र उपलब्ध गराउन नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई निर्देश गरेको थियो ।
समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत समितिको बैठकमा बोलाएको थियो। तर देउवा बैठकमा गएका थिएनन् ।