Friday, March 29, 2024
Homeसेयर बजारआज सेयर लगानीकर्ताको निर्णायक आन्दोलन

आज सेयर लगानीकर्ताको निर्णायक आन्दोलन

सेयर लगानीकर्ताहरुले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई घेराउ गर्दै बृहत् प्रदर्शन गर्ने भएका छन्। 

पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले गत जेठ २० आन्दोलन गरिरहेका छन्। संघर्ष समितिले १९ बुँदे माग अघि सारेको छ। 

संघर्ष समितिका तिलक कोइराला गत असार १ गतेदेखि धितोपत्र बोर्डबाहिर आमरण अनशनरत छन्। आज अनशनको सातौँ दिन पनि हो। 

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्की आजको आन्दोलन अन्तिम निर्णायक परिणामका लागि हुने बताउँछन्। ‘तिलकजीको स्वास्थ्य अवस्था नाजुक बनिसकेको छ, त्यसैले सरकार र नियामक निकायले सोचविचार गर्न आवश्यक छ’, उनले भने, ‘अब लगानीकर्ताका जायज माग उनीहरुले पूरा गर्नैपर्छ।’

संघर्ष समितिले बिहान १० बजे धितोपत्र बोर्डमा भेला हुन आह्वान गरेको छ। ‘हामीले सबै लगानीकर्ताहरुलाई उपस्थित हुन आग्रह गरेका छौँ’, कार्कीले भने। 

अमेरिकाबाट फर्केलगत्तै हिजो राति धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल अनशनरत तिलक कोइराला भेट्न पुगेका थिए। उनले धितोपत्र बोर्डले पूरा गर्न सक्ने माग कार्यान्वयन गर्न तयार रहेको तथा त्यसलाई एउटा कार्यान्वय समिति बनाउने प्रतिबद्धता गरेका थिए। 

उक्त समितिमा लगानीकर्ता संघसंगठनका प्रतिनिधिलाई पनि सहभागी गराउने पनि हमालले बताएका थिए। उनले कोइरालालाई अनशन तोड्न आग्रह गरेका थिए। 

कोइरालाले भने मौखिक रुपमा बोलिएका कुराहरुमा आफूहरु नफस्ने र माग पूरा नहुन्जेलसम्म अनशन नतोड्ने बताएका थिए। ‘बरु ज्यान जाओस् तर सबै माग पूरा नभएसम्म अनशन तोड्दिनँ’, उनले भनेका थिए।

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष कार्कीले अब धितोपत्र बोर्ड पूरा गर्न सक्ने मागहरु तत्काल कार्यान्वयन गर्नुपर्ने बताए। ‘सरकार र अन्य निकायबाट कार्यान्वयन गर्न सकिने हाम्रा माग पनि कति दिनमा पूरा हुन्छ त्यो हामीलाई स्पष्ट रुपमा हुनुपर्छ’, उनले भने, ‘आज धितोपत्र बोर्डका अध्यक्षले अर्थ मन्त्रालयमा छलफल गर्छु भन्नुभएको छ, त्यसपछि हामीसँग वार्ता हुनुपर्छ र हाम्रा माग पूरा हुने प्रत्याभूति गर्नुपर्छ। होइन भने हाम्रो आन्दोलन जारी रहन्छ।’

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments