Friday, September 29, 2023
Homeराजनीतिबिदेसमा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आए होटल क्वारेन्टिनमा बस्नु पर्दैन:मन्त्री भट्टराई

बिदेसमा पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आए होटल क्वारेन्टिनमा बस्नु पर्दैन:मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका छन्।

विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटन मन्त्रीले पिसिआर रिपोर्ट नेगेटिभ आउनेहरु सिधै घर जान पाउने बताए। सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल क्वारेन्टिनमा ७ दिन राख्ने निर्णय गरेको थियो।

कोरोना संक्रमणको दर कम भएका र पिसिआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुलाई रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने मन्त्रीकाे भनाइ छ।

उनले भने ‘‘जहाँ पिसिआर परीक्षण सहज हुन्छ, कोरोना संक्रमणको दर पनि कम छ त्यस्तो ठाउँबाट पिसिआर परीक्षण गरेका प्यासेन्जर बोकेर मात्र आउने हो। कुन कुन देशहरु भन्ने भोलि फाइनल सूची सार्वजनिक हुन्छ।’

पिसिआर गरेका यात्रुहरुले सरकारले वेवसाइटमा राखेको फर्म भर्नुपर्छ। नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ र नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाएमा १४ दिन आफ्नो घरमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित घर जान दिइने मन्त्री भट्टराईले बताए।

पिसिआर परीक्षण सहज नभएका मुलुकहरुका लागि उद्धार उडान गरिने उनले बताए। पिसिआर परीक्षण नगरी नेपाल आउने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने उनको भनाइ छ।

अर्को देशबाट आएर क्वारेन्टिनमा बस्दा व्यक्तिले नै खर्च व्यहोर्नुपर्ने नियम विश्वका अन्य मुलुकहरुमा समेत रहेको उल्लेख गर्दै उनले ११ हजारमा ७ रात र ८ दिनको होटल क्वारेन्टिनमा बस्न सकिने बताए।

उनले भने ‘‘सात रात र ८ दिनको प्याकेज ११ हजारमा हुन्छ, यदि एक कोठामा २ जना बस्ने हो भने। सिंगल बस्ने हो भने १७ हजार ५ सय हुन्छ। दिनको १५ सयको हाराहारीमा हुन्छ। होटलहरु स्वास्थ्य मापदण्ड पुरा गरेको हुनुपर्छ, गेट र कम्पाउण्ड भएको होटल, खुला ठाउँ भएको, सफा भएको, कोठामा टिभी र वाई फाई हुनुपर्छ। एट्याच ट्वाइलेट र बाथरुम हुनुपर्छ। तातोपानी पिउने व्यवस्था गर्नुपर्छ। ४ पटक खाजा र खाना दिनुपर्छ। त्यो भन्दा महंगोमा बस्छौँ भन्नेका लागि २५ सय र ४ हजार भन्दा बढीका होटलहरु पनि छन्।’’

पिसिआर अनिवार्य गरिएका देशहरुबाट कोरोना पोजेटिभ भएको वा परीक्षण नगरेको व्यक्तिलाई ल्याइए सम्बन्धित एयरलाइन्स कम्पनीले सबै यात्रुहरुको क्वारेन्टिन खर्च व्यहोर्नुपर्ने उनले बताए। नेपाल घुम्न आउने पर्यटकहरुका लागि नभएर विदेशमा अलपत्र परेका नेपाली, नेपाल आउनै पर्ने कुटनीतिक नियोगका पदाधिकारी र विकास साझेदार संस्थाका कर्मचारीहरु मात्रै आउन पाउने उनले बताए। परिस्थिति अनुकुल भएपछि अन्य देशहरुको समेत अवस्था हेरेर नियमित उडान सुरु हुने उनको भनाइ छ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -

Most Popular

Recent Comments